काठमाडौँ, १६ चैत । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजवंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । एपिएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन भने सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक-एक विकेट लिएकी थिइन् ।
टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् ।