पाल्पा, २६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने ‘मेरो नाम पनि जोडिएको छ । उचित छानबिन गरी उचित न्याय हुनुपर्छ ।’
यस काण्डमा मेरो पनि नाम जोडिएको छ । तर म आत्तिएको छैन । नाम जोडियो भन्दैमा कोही आत्तिनु पर्दैन । न्यायसंगत ढंगले छानबिन हुन्छ भन्नेमा मलाई विश्वास छ उनले थपे। म सहित पूर्वप्रधानमन्त्रीहरू कृष्ण भट्टराई, शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाललगायत धेरै नेताले पटकपटक सरकारको नेतृत्व गरेका छन्। सबैको नाम जोडिने कुरालाई गम्भीर रूपमा नलिएको उनले बताए ।
जो जसले सरकारको नेतृत्व गरेको छ । उनीहरूको नाम जोडिनु स्वभाविक हो । मातहतमा रहेका सबै एउटै नियतका हुँदैनन । जो दोषी छ । त्यसलाई कारबाही हुनुपर्ने उनले बताएका हुन् । तर दोषी र निर्दोषलाई एउटै घानमा राख्नु हुँदैन । असल र गलत नियत भएकालाई पनि एउटै घानमा राख्नु हुँदैन। काम गर्ने र काम नगर्नेलाई पनि एउटै रूपबाट बुझ्न नहुने नेपालले बताएका छन् ।
देशैभरिका सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्न उनले माग गरे । नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन गर्नुपर्छ । त्यसो भयो भने आम मान्छे डराउँछन । जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ । र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ ।
जग्गा अनियमितता र भ्रष्टाचार काण्डका पछिल्लो सबै घटनाको छानबिनमा आफ्नो पार्टीले सरकारलाई सघाउने उनले बताए। तर सरकारको व्यवहार निष्पक्ष हुनुपर्नेमा उनले जोड दिए ।







