काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।
सात दिनको समय दिँदै सूचना टाँसेको काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उनले बताए । ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उनले बताएका हुन् ।
ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ललिता निवासको जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा निर्वाचन आयोगका पूर्वआयुक्त, भाटभटेनी सुपरमार्केटका सञ्चालकसहित चार जना प्रहरी हिरासतमा छन् ।







