Logo

ललिता निवास प्रकरणमा बयान दिन तयार छु: डा.भट्टराई



बुटवल, २६ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् ।

बुटवलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताएका हुन् । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, उनले भने, ‘म बयान दिन म तयार छु ।’

अध्यक्ष भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने पनि बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताएका हुन् ।

भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए । उनले देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) माथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताएका हुन् ।

संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्