Logo

‘ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्छ’



काठमाडौँ, १३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो माग गरेका हुन् ।

त्यसैगरी उनले त्यस प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिन उपयुक्त हुने बताएका छन् ।

सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा एक सय ४३ रोपनी ६ आना अर्थात् १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेका छन । २०७८ पुस ६ गते जग्गा हिनामिनाको आरोपी २२० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जि जारी भएकोमा सरकारी वकिलको कार्यालयले ४ दिनपछि अनुसन्धान नटुंगिएको भनी फिर्ता पठाएको थियो । यस विषयमा संसद्ले पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी छ । र अन्य पूर्व प्रधानमन्त्री, मन्त्रीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्