Logo

लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिवि धराशायी अवस्थामा पुग्यो: पौडेल



काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेका हुन् ।

उनले कुनै समय उच्च शिक्षाको सिंगो धरातल सम्हालेको देशकै पुरानो विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, “त्रिभुवन विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्‍यो । लाखौँ लाख दक्ष जनशक्ति उत्पादन गर्‍यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय आफैँले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ ।”

शिक्षक र कर्मचारी नियुक्तिदेखि परीक्षा तालिकालगायत सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको बताएका छन् ।

“त्यसैले सरकारलाई मेरो आग्रह छ । लाखौँ विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस,” उनले लेखेका छन्,

“आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रूपमा नियुक्ति गर्नुस् । नियुक्ति राजनीतिक आधारमा नभइ कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।”

प्रतिक्रिया दिनुहोस्