Logo

लागत वृद्धि भएपछि झापामा निर्माण कार्य ठप्प



झापा, ४ जेठ ।  झापाका निर्माण व्यवसायीहरूले सरकारी विकास निर्माणका काम ठप्प पारेका छन् । पेट्रोलियम पदार्थ, निर्माण सामग्री, ढुवानी तथा जनशक्ति लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण पुरानै सम्झौताअनुसार काम गर्न नसकिने भन्दै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् ।

निर्माण व्यवसायी संघ झापा को नेतृत्वमा व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय झापासहित विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

संघका अध्यक्ष रमेश अधिकारी ले निर्माण सामग्रीको मूल्य अत्यधिक बढे पनि सरकारले मूल्य समायोजन नगरेको गुनासो गरे । महासंघले यसअघि नै सरकारलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले बाध्य भएर काम रोक्नुपरेको उनले बताए ।

व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय, सिँचाइ विकास डिभिजन कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय र जिल्ला पूर्वाधार कार्यालय झापामा ज्ञापनपत्र बुझाएका हुन् ।

संघका अनुसार डिजेल, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य दोब्बरजस्तै बढेपछि निर्माण उद्योग गम्भीर संकटमा परेको छ । व्यवसायीहरूले हालको अवस्थामा पुरानै दररेटमा काम गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने बताएका छन् ।

ज्ञापनपत्रमा निर्माण क्षेत्रले देशको आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण र लागत समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

निर्माण व्यवसायीहरूले काम रोकेपछि झापाका सयौँ विकास आयोजना प्रभावित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्