Logo

लामिछानेलाई स्पष्टिकरण सोधिने भएपछि चितवनमा मतगणना गर्ने सहमति



चितवन, ११ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उलंघन गरेकोमा स्पष्टिकरण सोध्न निर्वाचन कार्यालय तयार भएपछि दिउँसो १ बजे देखि चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेदेखि हुने भएको छ ।

नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधिले लामिछानेले आइतवार बिहान फेसबुक पेजबाट मत मागेको, मतदान केन्द्रमा जाँदा अनुमति भन्दा बढी सवारीसाधन प्रयोग गरेको र नाराजुलुस लगाएर आचारसंहिता उलंघन गरेको आरोपमा निर्वाचन कार्यालयमा उजुरी गरेका थिए । काँग्रेसले उजुरीका विषयमा टुंगो नलागी मतगणना नगर्ने अडान लिएपछि आइतवार गणना नभएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा निर्वाचन कार्यालय स्पष्टिकरण सोध्ने र निर्वाचन आयोगमा सोको जानकारी दिने सहमति भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्