Logo

लाल भागिरथा प्रतिष्ठानले डा.शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गर्ने



मेचीनगर, ८ मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना अब्बल प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको हो ।

लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।

यसैगरी, लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर-५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत सम्मानित हुने भएका छन् ।

लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट बिर्तामोड-४ की हिमा लुइँटेल पाठकलाई सम्मानित गरिने भएको छ । सबै पुरस्कारको नगद राशी जनही रु.३१ हजार रहेको छ ।

प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, कृषि र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई पुरस्कार दिदै आएको छ । यसवर्ष एक जोडी ज्येष्ठ नागरिकलाई समेत सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।

पत्रकार सम्मेलनको अध्यक्षता समेत गरेका अध्यक्ष बानियाँले यही मंसिर २० गते धाइजनमा एक समारोहबीच पुरस्कार वितरण गरिने जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, सचिव डम्बर देउजा, सदस्यद्वय भाष्कर घिमिरे र मोहन काजीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्