Logo

लिखित सहमति गरे मात्र विश्वासको मत दिन्छौँ: मेटमणि चौधरी



काठमाडौँ, २८ फागुन । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताएका हुन् ।

उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताएका छन् ।

उनले भने, ‘भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उनले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उनले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्