Logo

लिग चरणको अन्तिम खेलमा अर्जुनधारा विजयी



भद्रपुर, १८ मंसिर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।

आइतवार भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २-० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो ।

आजको पहिलो खेल शिवसताक्षी र कमलका बीचमा भए पनि कमल गाउँपालिका खेल बहिष्कारको कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।

समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोल अन्तर भए पनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह विजेता बन्यो । लिग चरणका खेलहरुमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुईवटा पहेँलो कार्ड पाएको थियो ।

समूह विजेता बनेको अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३ औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधारका बादल तामाङले नगद दुई हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीलगायतले प्रदान गरेका थिए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आजको खेलसँगै लिग चरणमा खेलहरु सकिएका छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।

पहिलो क्वार्टर फाइनल खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्