Logo

लिङ्कन मन्टेश्वरीमा बालबालिकाको आँखा परिक्षण



बिर्तामोड, १९ साउन । आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले विद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क आँखा परिक्षण गरिएको छ ।

लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा आज एकदिने नि:शुल्क आँखा स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, अभिभावक, स्थानीय गरी ८० जना बढीको आँखा परिक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले जानकारी दिइन् ।

बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक अर्याल र दृष्टि विशेयज्ञ भावना गनगाईको टोलीले आँखा परिक्षण गरेको थियो ।

आँखा पाक्ने रोगको परिक्षणसँगै विद्यार्थीहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उद्देश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग ब्यापक रुपमा फैलिरहेकोले सर्तक रहन सबैलाई आग्रह गरेका थिए ।

उनले आँखा पाकेको औषधी जुनसुकै मेडिकल पाइने भएपनि नेत्र विशेयज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिए । दाहालले आँखा पाक्ने रोगको औषधि पनि कुनै कडा प्रकारको हुने र त्यसले आँखामा अर्को ठूलो समस्या पैदा गर्ने भएकाले नेत्र विशेसज्ञको सल्लाह अनुसार प्रयोग गर्न सवैमा आग्रह गरेका हुन् ।

उक्त अवसरमा राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल, जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्