झापा, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
कार्यक्रममा बोल्दै लिङ्देनले जनताको प्रतिनिधि बन्न चाहने र देशको नेतृत्व गर्न अघि बढ्ने व्यक्तिले आफ्ना धारणा राख्न कुनै पनि फोरममा जान हिच्किचाउनु नहुने बताए। उनले भने, “देश चलाउँछु भन्ने मान्छेले आफ्ना कुरा राख्न सबै ठाउँमा पुग्नुपर्छ। त्यसका लागि राप्रपा सधैँ तयार छ।”
लिङ्देनले राप्रपाले अन्य कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन नगरेको स्पष्ट पार्दै पार्टी जनतासँग मात्रै सहकार्य गरेर देशव्यापी चुनावी अभियानमा होमिएको दाबी गरे। उनले जनताको विश्वास र समर्थनकै बलमा राप्रपा मैदानमा उत्रिएको भन्दै मतदातासँग प्रत्यक्ष संवादलाई अभियानको मुख्य आधार बनाइएको उल्लेख गरे।
उनका अनुसार आगामी दिनमा पनि पार्टीले खुला बहस, संवाद र जनसम्पर्कलाई प्राथमिकता दिँदै निर्वाचन अभियानलाई अझ सशक्त बनाउने योजना बनाएको छ।







