काठमाडौं, २४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाद्वारा आयोजना गरिने जलपान समारोह कार्यक्रममा निमन्त्रणाका लागि राप्रपा अध्यक्ष लिङ्देनले रास्वपाका सभापति लामिछानेलाई भेटेर औपचारिक निमन्त्रणा दिनुभएको पार्टी प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
दुवै नेताबीचको संवाद चुनावी विषयबाट सुरु भएको बताइएको छ। भेटमा आसन्न निर्वाचनको सम्भावना, समसामयिक राजनीतिक अवस्था र भावी राजनीतिक दिशाबारे छलफल भएको स्रोतको भनाइ छ।
भेटवार्तालाई शिष्टाचार तथा राजनीतिक परामर्शका रूपमा लिइए पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण यसले विशेष अर्थ बोकेको विश्लेषण गरिएको छ।







