अर्जेन्टिना, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।
मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो ।
ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा “मेस्सी! हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,” भनिएको छ ।
रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् ।