Logo

लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ: महासचिव गुटेरेस



लुम्बिनी, १४ कात्तिक । नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् ।

उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरेका हुन् ।

आज बिहान पोखराबाट विशेष विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उनले खुसी व्यक्त गर्दै उनले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गरेका छन् । उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरेका थिए ।

“शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न”, उनले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ मिल्दोजुल्दो छ । यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँ ।”

त्यस्तै, महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए । यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे । शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए । उनले वृक्षरोपणसमेत गरेका थिए ।

महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी भएका हुन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्ति दीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्