काठमाडौँ, २१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ ।
लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको हो ।
लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पोखरा एभेन्जर्सले १६.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो ।
लुम्बिनी लायन्सको यो लगातार दोस्रो हार हो । पोखराको भने पहिलो जित हो ।
पोखराको जितमा अमेरिकी ब्याटर आन्द्रेस गौसले शानदार शतक प्रहार गरे । उनले ५५ बलमा १०४ रनको आक्रामक इनिङ खेले ।
अर्का ओपनर दिनेश खरेलले शानदार अर्ध शतक प्रहार गरे । उनले ४६ बलमा ६१ रन बनाए ।
लुम्बिनी लायन्सका कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । यो एनपिएलको सबै भन्दा ठुलो स्कोर हो ।
रोहितले ५९ बलमा ९५ रनको आक्रामक कप्तानी पारि खेले । उनले १० चौका र ४ छक्का हिर्काए ।
टम मूर्सले ४५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । उनी रन जोड्ने क्रममा रन आउट भए ।
सन्दीप जोराले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
आज पनि लुम्बिनीका ओपनरहरू चल्न सकेनन् । ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भए ।
बलिङमा पोखराका विपिन खत्रीले सर्वाधिक २ विकेट लिए । म्याट क्रिचले १ विकेट लिए ।