काठमाडौँ, १९ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । ओपनर लोकेश बमको अर्धशतकमा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको हो ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । लामो सटको प्रयासमा रोहित राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा प्रतिस जिशीबाट क्याच भए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । दुई रन लिने चक्करमा मुर्स रन आउट हुन पुगे ।
विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।
बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।