Logo

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदै



दाङ, २४ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदैछ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्य पदका लागि सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

राष्ट्रिय सभा सदस्य चुनावमा लुम्बिनी प्रदेशमा रहेका पालिकाका प्रमुख-उपप्रमुख र प्रदेश सभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । जसमा २ सय १८ जना पालिकाका प्रमुख/उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहेका छन् ।

पालिका र प्रदेश सभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेश सभा सदस्यको मत भार ४८ छ ।

प्रतिक्रिया दिनुहोस्