Logo

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन



दाङ, ५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीको यो दोस्रो सम्बोधन हो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभाले निमन्त्रणा गरेपछि आज नेपाली सेनाको हेलिकप्टर चढेर उहाँ दाङ पुग्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट उत्पादन र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । कम खर्च बढी लाभ दिने गरी प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कुनै पनि देश अर्काले नबनाइदिने भन्दै उहाँले हामी गर्न सक्छौँ भन्ने उच्च मनोबल राख्नुपर्ने ओलीले बताउनुभयो । विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण शुरू गरेकोमा प्रशंसा गर्नुभयाे । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

प्रतिक्रिया दिनुहोस्