लहान, ११ वैशाख । नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन आन्दोलनमा उत्रिएको छ । एसोसिएसनमा आवद्ध सदस्यहरूले लहान मालपोत कार्यालयको मूलगेटमा धर्ना दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ५ गते भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुल्ला गरे पनि लहान मालपोत कार्यालय निर्णय कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ ।
नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन लहानका अध्यक्ष रामनारायण यादवले सरकारको निर्णय कार्यान्वयन गर्न कार्यालय प्रमुखले अटेर गरेको आरोप लगाए । उनले उपसचिवको दरबन्दी भएको कार्यालय सुब्बाको भरमा चलिरहेकाले कामकाज गराउनमा समस्या भइरहेको बताउँदै दरबन्दी अनुसारको कार्यालय प्रमुख पठाउनसमेत माग गरे ।
लहान मालपोत कार्यालयका कार्यालय प्रमुख दीपेन्द्रनारायण चौधरीले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जग्गाको कित्ताकाट खोले पनि विभागबाट परिपत्र नआएकाले जग्गा कित्ताकाट नखुलाएको बताए । विभागबाट जग्गा कित्ताकाटको परिपत्र आएलगत्तै जग्गा कित्ताकाट सुरु हुने उनले स्पष्ट पारे ।







