मोरङ, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२, स्कूलचोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ।
लामो अनुसन्धान र निरन्तरको खोजीपछि प्रहरीले घटनामा संलग्न भएको आशंका गरिएका अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गर्ने तयारी गरेको हो।
अधिकारी मृतक बालिकाकै छिमेकी हुन्। उनलाई पक्राउका लागि प्रहरीले भारतसम्म खोजी बलियो बनाएको थियो। प्रहरीका अनुसार अधिकारी नेपालमै आएपछि पक्राउ गर्न सफल भएको हो।
हत्या प्रकरणमा न्याय नपाउने आशंकामा मृतकका आफन्तले अझै शव बुझेका छैनन्। शव भेटिएको ४५ दिन र बेपत्ता भएको ६२ दिन पुगेको छ। शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ।
घटना यस्तो थियो
२१ असोजको साँझ घरनजिकै पिङ खेलेर फर्कने क्रममा १३ वर्षीया अंशु गौतम बेपत्ता भएकी थिइन्। खोजीका क्रममा १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनमा उनको क्षतविक्षत शव फेला परेको थियो। शरीर र टाउको अलग–अलग अवस्थामा भेटिएको शवको पहिचान कपडा र चप्पलका आधारमा गरिएको थियो। डीएनए परीक्षणले समेत शव अंशुको नै भएको पुष्टि गरेको थियो।
शव भेटिएपछि प्रहरीले बलात्कारपछि हत्या भएको सम्भावना रहेको प्रारम्भिक बुझाइ सार्वजनिक गरेको थियो, तर घटनाको प्रकृति जटिल भएकाले अनुसन्धान लामो समयसम्म जारी रह्यो।
अनुसन्धान यसरी अघि बढ्यो
प्रहरीका विभिन्न निकाय—मोरङ प्रहरी, प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (CIB)—ले संयुक्त रूपमा गहिरो अनुसन्धान चलाए। घटनास्थल वरपर सक्रिय मोबाइल फोनहरूको विश्लेषण, स्थानीय बसोबास, नयाँ व्यक्तिहरूको गतिविधि, विद्यालय, परिवार र छिमेकीहरूसँग पटक–पटक सोधपुछ गरिएको थियो।
अंशु बेपत्ता भएको दिन प्रथम महिनावारी भएको १२–१३ दिन भएको, घरमा सामान्य मनमुटाव भएको र मुड परिवर्तन भएका विवरणहरू प्रहरीले संकलन गरेको थियो। शव सडेको र शरीर छुट्टिएको अवस्थामा भेटिनु, जंगली जनावरको सम्भावित आक्रमणलगायतका कारण अनुसन्धान झनै चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ।
अभियुक्त पक्राउ र शंका
स्थानीयका अनुसार अधिकारी छिमेकी समेत भएका कारण घटनापछि खोजीमा सक्रिय देखिए पनि शव फेला परेपछि भारततिर गएका थिए। प्रहरीले निरन्तरको सम्पर्क र फकाइबुझाइपछि मात्र उनी नेपाल फर्किएको बताइएको छ।
स्थानीय एक व्यक्तिले भने, “बेपत्ता बालिकाको खोजीमा समेत उनी अघिअघि हिँडेका थिए। यति ठूलो अपराध छिमेकीले गर्छन् भन्ने कुरा कसैले कल्पना गरेको थिएन।”
स्थानीयको डर : ‘कञ्चनपुरकी निर्मला पन्तजस्तै नबनोस्’
अपराधी नखुल्ला कि भन्ने चिन्ताले स्थानीय समुदाय चिन्तित थियो। तर प्रहरीले विस्तृत अनुसन्धानपछि घटनामा संलग्न अभियुक्त पहिचान गर्न सफल भएको दाबी गरेको छ।
प्रहरीले थप प्रमाण संकलन गरिरहेको र घटनाको सम्पूर्ण विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ।







