Logo

लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन : ओली



 

काठमाण्डाै, २१ पुस । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भएकाले गुटबन्दी गर्नेहरूलाई पार्टीमा ठाउँ नभएको बताउनुभएको छ ।

ललितपुरको च्यासलमा आजदेखि शुरू भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकता र गुटबन्दीलाई पार्टीले प्रश्रय नदिने स्पष्ट पार्नुभएको हो । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका नाममा पार्टीलाई कमजोर बनाउनेहरूविरुद्ध निर्मम हुनैपर्ने उहाँकाे भनाइ छ ।

भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सेना लगायत पछिल्लो समय नेताहरूमाथि भएको कारबाहीलाई सङ्केत गर्दै ओलीले लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने टिप्पणी गर्नुभयो । सार्वजनिक खपत र मिडियामा चर्चा पाउनकै लागि पार्टीका आन्तरिक विषय छताछुल्ल पार्नु उचित नहुने उहाँकाे धारणा छ ।

पार्टीविरुद्ध भइरहेको दुष्प्रचार रोक्न सबै नेता/कार्यकर्ता लाग्न तथा प्रमाण र तथ्यसहित विरोधीलाई जवाफ दिन पनि ओलीले निर्देशन दिनुभएको छ । विरोध बढ्यो भनेर चुप लाग्नु समाधानको उपाय नभएको उल्लेख गर्दै उहाँले तथ्यका आधारमा सबै मिलेर जवाफ दिएपछि विरोधी कमजोर बन्ने बताउनुभयो ।

ओलीले केन्द्रीय समितिको बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्