
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन् ।
कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका खिलापमा धुमिल वातावरण बनाउने प्रयास भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुनुपर्ने उल्लेख गरेका हुन् ।
सभापति देउवाले भने, “नेपालका राजनीतिक दलहरुमा प्रतिस्पर्धा र वैचारिक विविधता बाबजुद लोकतन्त्रका सम्बन्धमा एक ठाउँमा रहने राम्रो संस्कार छ, यो विरलै हुन्छ ।” सबै पार्टीबीच रहेको यस्तो सहमति र साझा धारणा महत्त्वपूर्ण रहेको उनले बताएका हुन् ।
राष्ट्रियताका सवालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नीतिको प्रभाव रहेको उल्लेख गर्दै सभापति देउवाले कोइराला सानो देशका ठूला नेता भएको बताए । बीपी कोइराला मुलुक अफ्ठ्यारो परिस्थितिमा ज्यान जोखिममा राखेर स्वदेश फिर्ता हुनुभएको प्रसङ्ग उल्लेख गर्दै उनले बीपीका विचार, राष्ट्रिय एकता र मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किनु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।







