सिन्धुपाल्चोक, १० असोज । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताएका छन् ।
सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य-मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरूको क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरेका हुन् ।
स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । नेताहरूले कार्यनीति फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको उनको उनको भनाइ छ ।
‘नेपालमा नेताहरूले बढी भाषण गर्ने चलन रहेको छ तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ । खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरूले भाषण गर्ने गरिएको छ’ उनले भने, ‘कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ । काम गरेर देखाउन एक्कसनमा जानुपर्छ । एक दुई तीन गरी काम गर्ने योजनाका रूपमा जानुपर्छ ।’







