काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने बताए । उनले भने, “सत्ताका लागि नभइ सुशासन, भ्रष्टचार न्यूनीकरणका लागि साझा सहमति कायम गर्न सकिन्छ ।”
बहस र तर्कले जनताको पेट नभरिने र उद्योग पनि नफस्टाउने भन्दै उनले प्रश्न गरे, “कहिले देश र जनताप्रति इमान्दार भएर राजनीति गर्ने?” बदलिँदो अवस्थामा राजनीतिक दल र सरकार नयाँ ढङ्गले अघि बढनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले राजनीति स्थिर भएन भने नागरिक र लोकतन्त्रमा असरपर्ने धारणा राखेका थिए ।
वर्तमान सरकारलाई आफूहरुले पूर्ण र रचनात्मक सहयोग गर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वका लागि अपिल गरे । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र समृद्धिमा खेलेको भूमिका र प्राप्त उपलब्धिबारे जानकारी गराउँदै कमजोर बन्दै गएको आर्थिक अवस्था उकास्न गठबन्धनको सरकारले भूमिका खेल्ने बताएका छन् ।







