
काठमाडौँ, २ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिएका छन् ।
दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौँमा हुन गइरहेको प्रर्दशनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताएका हुन् ।
पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौँमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौँमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गरेका थिए ।
उनले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसिर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए । उनले त्यस प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरुलाई निर्देशन दिए ।
ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले त्यो प्रदर्शनीको आह्वान गरेको बताए ।
उनले भने, ‘सात गते हामी अलिकति थोरै के देखाउन चाहन्छौँ भने देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ अब । अर्को कुरा, अहिले भइरहेको बेथितिलाई, कुशासनलाई, भ्रष्टाचारलाई, तस्करीलाई यही कुरालाई चुपचाप हेरेर बसिरहन सक्दैनौँ । हामीले सरकारको हनिमुन डेज भन्छ सय दिन । धेरै वटा दिनहरु हेर्यौँ, पर्खियौँ । सुझाव दियौँ, पार्लियामेन्टमा बोल्यौँ । मैले विपक्षी दलको नेताको हैसियतले पार्लियामेन्टमा बोलेको छु । अरु ठाउँमा बोलेको छु । तर, सरकारले सप्रने खालको कुनै लक्षण देखाएको छैन ।’
उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए । संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गरेका थिए ।
उनले भने, ‘राष्ट्रपति जाजरकोट किन जानु भएको रु कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नु भएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नु भएकै थियो । कति के भयो भन्नु सुन्नु भएकै थियो । त्यो भन्दा अगाडि नै खबर आईसकेको थियो-नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो ।’







