विराटनगर, २६ कात्तिक । नेपालको पूर्वी तराईमा बसोबास गर्ने सन्थाल जातिको पहिचान र गरिबी भन्दा मुख्य समस्या नागरिकता बनेको छ । सन्थाल जातिका कथा, व्यथा र अनेक पीडा भएपनि नागरिकता मुख्य समस्या बनेको छ ।
सन्थाल जाति जङ्गलमा शिकार गरेर गुजारा चलाउन मन पराउने जाति हो । उनीहरुले नै पूर्वी तराईको घना जङ्गल फँडानी गरेर उर्वरा जमिन बनाएको इतिहास छ । पूर्वी नेपालमा सन्थाल जाति कहिले देखि बसोबास गर्न थाले भन्ने प्रमाणिक इतिहास छैन । यद्धपि, यस जातिका अगुवाले पूर्वी नेपालमा विसं १७३० देखि सन्थाल जातिले बसोबास गरेको बताउँदै आएका छन् ।
कतिपय इतिहासकार तथा अध्ययेताले भने भारतीय रेलका लिकमा ओछ्याउन सालका काठको आपूर्ती पूर्वी नेपालको जंगलबाट गरिएको थियो । राणा कालमा जंगल फँडानीका लागि भारतका आदिवासी सन्थाललाई ल्याइएको थियो । नेपालको जंगलमा प्रशस्त जंगली जनावार पाइने भएकाले सन्थालको ठूलो समूह नेपालमै बसोवास गर्न थाले । जंगल सकिँदै गएपछि उनीहरु खेतिकिसानीमा लागेको बताइन्छ ।
नेपालमा सन्थाल जातिको जनसंख्या घट्दै गएको छ । सन्थाल जातिको विकास, संरक्षण एवं सम्वद्र्धन गर्न बनेका नेपाल सन्थाल आदिवासी उत्थान सङ्घ मोरङ शाखाले शोषण, दमन, थिचोमिचोका कारण यो जाति समाजमा अगाडि बढ्न नसकेकाले भारत पलायन भएको जनाएको छ ।
बसोबासको प्रारम्भदेखि अहिलेसम्मका स्थिति हेर्दा यो जातिको सङ्ख्या कम्तीमा १२ लाख पुग्नु पर्नेमा अहिले ५१ हजारमा सीमित हुनु नै यिनीहरूमाथि भएको दमन, थिचोमिचो, अन्याय नै मुख्य कारण भएको सङ्घका अध्यक्ष लुखीराम हस्दाको भनाइ थियो ।
जङ्गली जनावरसँग नडराउने हामी अहिले दुई खुट्टे मानिससँग डराएका कारण हाम्रो उन्नति र प्रगति भएन, हिजोका जमिनदारलाई आज सुकुम्बासी बनाइएको छ, समाजमा पछाडि पारिएको छ, न्याय एवं सामाजिक न्यायमा पहुँच नभएकै कारण यो समुदायले समस्या भोग्दै आएको र हाम्रो समस्यालाई समाधान गर्न राज्य र राजनीतिक दलले पनि साथ नदिएको उनले बताए ।
“हामी नै वास्तविक भूमिपुत्र हौँ तर हाम्रो यहाँ जल जमीन र जङ्गल नभएकाले नेपाली नागरिक जस्तो समान व्यवहार हुँदैन, दुःख लाग्छ सन्थाल जातिको यही समस्या छ,” अध्यक्ष लुखीराम हस्दाको गुनासो थियो
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल र प्रहरी उपरीक्षक जनार्दन जिसीलगायत एक टोली सन्थाल जातिको समस्या बुझ्न मोरङको कानेपोखरीस्थित होक्लाबारी पुग्यो । आफ्नै गाउँ ठाउँमा पहिलो पटक आएको टोलीलाई खुशी भएर उनीहरूले सत्कार गरे । बाक्लै उपस्थिति रहेका सन्थाल जातिले आगन्तुकलाई आफ्नै पहिरन, संस्कृति र नाचगानमा भव्य स्वागत गर्नाका साथै प्रजिअ दाहाल र उपरीक्षक जिसीलाई आफ्नो जातिको पहिचान देखाउने ‘पन्ची डिङ्गा’ लुगा पहि¥याएका थिए ।
सन्थाल जातिका अगुवा एवं सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र किस्कुले दिनप्रतिदिन लोप हुँदै गएको आफ्नो जातिको सबैभन्दा ठूलो समस्या नागरिकता भएको बताए । हामी आदिवासीलाई सरकारले अङ्गीकृतक नागरिकता दिएकाले यो समस्या बिकराल बन्दै गएको गुनासो गर्दै उनले गाउँबस्ती नै नभएको बेलादेखि जङ्गल फँडानी गरेर यो क्षेत्रमा बसोबास गर्ने सन्थाल जातिलाई वंशजको नागरिकता दिनुपर्नेमा उनले जोड दिए ।
नागरिकता नभएकै कारण रोजगार गुमाउनु परेको, शिक्षा, स्वास्थ्यमा पहुँच हुन नसकेको, आफैँले फँडानी गरी जोतभोग गरेको जग्गा जमीन अरुले हड्पेको, बेलाबखत झुटा मुद्दामा फसाउने गरेको, नागरिकको पहिचान नदिएको र आर्थिक तथा सामाजिकरुपमा पनि पछाडि पारिएकाले आफूहरूको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी दाहालसँग सहभागीहरूले आग्रह गरे ।
राजेन्द्र किस्कु, श्याम टुडु, जोसन सोरेन र किसन हस्दाले एकै प्रकारका समस्या सुनाइरहेकामा युवती शान्ति टुडुले आफूले स्नातक गरिसक्दा पनि नागरिकताको प्रमाणपत्र नभएकाले सरकारी जागिर खानबाट बञ्चित हुने अवस्था सिर्जना भएको गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी दाहालले सन्थाल जातिको समस्या सुन्दा निकै चिन्ता लागेकाले समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताए । कानूनको जटिलताले गर्दा स्थानीय तहबाट हुने काम स्थानीय तहबाटै र जिल्लाबाट हुने जिल्लाबाटै समाधान गर्ने वाचा गर्दै उनले नागरिकताको समस्या समाधान गर्न गृहमन्त्रालयमा लिखित पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी उपरीक्षक जिसीले अपराधले जात धर्म केही नदेख्ने भन्दै झुठ्ठा मुद्दा लगाउने, मिटर ब्याज लिनेजस्ता मनोवृत्तिका मानिसलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एक सन्थाल युवाले आफूहरूका ठूला नेता तुर्सा हेमरम नेपाली कांग्रेस पार्टीमा लागेर नेपाली जनताको हकअधिकारको लडाईंमा १५ वर्षभन्दा बढी जेल बस्नुभयो, आज उहाँ यस धर्तीमा हुनहुन्न तर पनि उक्त पार्टीले हाम्रो समस्या समाधान गर्न र हक अधिकारका लागि केही गरेकामा दुःख व्यक्त गरे ।