काठमाडौँ, २२ असोज । सत्तागठबन्धनबाट जनता समाजवादी (जसपा) बाहिरिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएको छ । तर, लोसपाको आगमनले माधव नेपाललगायतका समाजवादीका केही केनाको सिट असुरक्षित बनेको छ । गठबन्धनले लोसपालाई ८ सिटमा मनाउने तयारी गरेको छ ।
रौतहट १ मा गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार हुने पहिले नै सहमति भइसकेको छ । तर ०७४ मा (तत्कालीन राजपा) लोसपाका नेता अनिल झा सो क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धनमा लोसपाले झाका लागि रौतहट १ मागेको छ । झा लोसपाका प्रभावशालली नेता हुन् ।
यस्तै एकीकृत समाजवादी पार्टीले पाउने निश्चित भएका बारा ४ र धनुषा ३ लगायतका क्षेत्रमा पनि लोसपाको दाबी छ । ०७४ मा बारा ४ मा लोसपाका राम एकवाल मिया र धनुषा ३ मा राजेन्द्र महतो निर्वाचित भएका थिए । उक्त क्षेत्र आफूले पाउने पर्ने लोसपाको प्रस्ताव छ ।
बारा ४ मा एकीकृत समाजवादीले नेता किसान श्रेष्ठ र धनुषा ३ मा रामचन्द्र झालाई गठबन्धनबाट उम्मेदवार बनाउने तयारी गरिसकेको छ । यसले लोसपाका लागि गठबन्धनभित्र सिट बाँडफाँटमा सकस बनेको ती नेताले बताए । केही क्षेत्रमा काँग्रेसका लागि पनि लोसपाका नेताको व्यवस्थापन समस्या देखिएको छ ।
पर्सा ४, महोत्तरी २ लगायतमा लोसपा र काँग्रेसको दाबी छ । ०७४ मा पर्सा ४ बाट लोसपाका लक्ष्मणलाल कर्ण विजयी भएका थिए भने महोत्तरी २ मा शरदसिंह भण्डारी निर्वाचित भएका थिए ।
पर्सा ४ र महोत्तरी २ लोसपालाई छाड्दा नेता रमेश रिजाल र नेतृ किरण यादवको व्यवस्थापन कांग्रेसका लागि चुनौती पूर्ण छ । तर भोलिसम्म जसरी पनि उम्मेदवार टुङ्ग्याउनुपर्ने दलहरू दबाबमा छन् । निर्वाचन आयोगका अनुसार आइतबार मनोनयन दर्ताको कार्यतालिका छ ।







