काठमाडौँ, ११ असार । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग प्रस्ताव गरेका छन् । एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् ।
कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन् । यादवनिकट दोस्रो तहका नेताहरूले पनि लोसपाका नेताहरूसँग छुट्टै कुराकानी गरेका छन् ।
केही दिनअघि भट्टराईले लोसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए । उक्त कुराकानीमा पार्टी एकीकरण गर्न भट्टराईले प्रस्ताव गरेका थिए । भट्टराई र उनी पक्षीय नेता राजकिशोर यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्न समय मागेको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए ।
मिश्रका अनुसार आजभोलि नै भेटघाट हुने सम्भावना छ । लोसपाका नेताहरूयादव पक्षसँग भन्दा भट्टराई पक्षसँग पार्टी एकीकरण गर्न इच्छुक देखिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।







