Logo

ल्होत्से मलमा लुटपाट गर्ने चार जना पक्राउ



काठमाडौँ, ३ फागुन । काठमाडौँको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा गएको सोमवार लुटपाट गर्ने चार जना पक्राउ परेका छन् ।

सोमवार दिउँसो यातायात मजदुर र प्रहरीबीच दिनभर तनाव भएको थियो । त्यही मौकामा राति ल्होत्से मलको सिसा फुटाएर मोबाइललगायतका लाखौँ मूल्यका सामान लुटपाट भएका थिए । प्रहरीले लुटपाटमा संलग्न चार जनालाई लुटेका सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका घर भएका चिरन रेग्मी, रुपन्देहीको खैरेनीका सुजन खत्री, झापाका प्रदीप बस्नेत र काठमाडौँको सामाखुसीका नवीन खड्गी रहेका छन् ।

यस्तै सोमवार नै प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आगजनीमा संलग्न उदयपुरका विक्रम राई, नुवाकोटका रामहरि भण्डारी, लमजुङका विवेक श्रेष्ठ, काभ्रेका राजेश तामाङ, आशिष खड्का र प्युठानका दीपेन्द्र पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्