काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पती छानविन गर्नुपर्ने प्रश्ताव महासमितिले पारित गर्नुपर्ने बताएका हुन् । उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका थिए ।
उनले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताए । उनले महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।
उनले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताए । उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता कायम रहने बताएका छन् ।
उनले भने ‘अर्थतन्त्रको बारेमा कुरा गर्दै गर्दा निश्चित रुपमा कोरोनाका कारण संसारभर अर्थतन्त्र मन्दीमा पुग्यो । आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारका कारण हामी अल्मल्लिएका छौँ । त्यसैले गर्दाखेरी म निवेदन गर्न चाहन्छु, जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन । भुँइ मान्छेलाई माथि उठाउन सकिन्न । झुपडीलाई महलमा परिवर्तन गर्न सकिन्न । फेदमा बसेकोलाई टुप्पोमा पुर्याउन सकिदैन । यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनतालाई छुने गरेर यो महासमिति बैठक सम्पन्न हुनैपर्छ । त्यसकारणले काँग्रेसको तर्फबाट वडा अध्यक्ष भएदेखि मजस्ता मन्त्री भएकाहरुको सम्पत्ति छानविन गरिनुपर्छ भन्ने प्रश्ताव यो महासमितिले प्रश्ताव पारित गरिनुपर्छ म निवेदन गर्न चाहन्छु । यति गरेमा आगामी दिनमा पहिलो पार्टी मात्र होइन बहुमतको पार्टी फेरि तीनै तहमा अगाडि बढ्नेछौँ ।’
उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताए ।





