काठमाडौँ, २९ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताएका हुन् ।
काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अविलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरेका थिए ।
मिटरब्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुले पनि वर्तमान सरकारले उनीहरूमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसकेकोमा उनले आक्रोश समेत व्यक्त गरेका छन् ।







