Logo

वर्तमान सरकारले केही गर्न सक्दैन: अध्यक्ष ओली



काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् ।

नेपालीले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘हामी नेपाली यति बेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, नागरिकले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन । कोही-कोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर, दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । अहिलेको सरकार सरकारमा किन बसिरहेको छ? अचम्म लाग्दो छ किन बसिराखेको छ? केही पनि गर्न नसक्ने सरकार ।’

ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे । सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नगरेको तथ्य नागरिकलाई भन्न पनि सरकारले नसकेको उनले बताए ।

अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकेदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकेदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्