काठमाडौँ, २१ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् ।
आइतबार संसद् भवनमा पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको पनि उनले बताए । अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको टिप्पणी गरे । देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उनले भने, ‘अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ ।’
देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको उनले आरोप लगाएका थिए । अर्थमन्त्रीले आवश्यक परामर्श गरेर अघि नबढ्दा अर्थतन्त्र समस्यामा परेको उनको भनाइ छ ।
देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर २०४८ सालमै असफल भइसकेको सिद्धान्त फेरि लागु गर्न खोज्नु उपयुक्त नरहेको उनले चर्चा गरेका थिए । अध्यक्ष ओलीले आवश्यकता परेमा एमाले सरकारमा जतिबेला पनि जान सक्ने सांसदहरुलाई जानकारी गराएका थिए ।





