Logo

वर्तमान सरकार असफल भइसक्यो: सचिव भट्टराई



ताप्लेजुङ, २१ माघ । एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले नेपालमा व्यवस्था नभइ अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अब गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताएका हुन् ।

नेपालमा हरेक दशकमा केही न केही परिवर्तन भएको स्मरण गर्दै उनले प्रजातन्त्र, गणतन्त्रको विकल्प निरंकुशता नभएको बताए ।

‘२००७, १७, २८, ३६, ४६ लगायतका हरेक दशकमा परिवर्तन भएका छन्,’ भट्टराईले भने , ‘अहिलेपनि केही चर्चा भइरहेका छन् तर समय पछाडि फर्किंदैन ।’

नेपालमा पृथ्वी नारायण शाह बाहेक कुनैपनि राजाको भूमिका नभएको भट्टराईको दाबी थियो । ‘उनले एकीकरण नगरेको भए ब्रिटिस साम्राज्यले कहाँ पुर्याउँथ्यो’ भटराईले थपे, ‘राजतन्त्र वर्तमान पनि होइन र भविष्य पनि होइन । नेपालमा अहिलेको व्यवस्था निर्विकल्प हो । खुला समाजको विकल्प निरंकुश हुन सक्दैन ।’

अहिलेको गठवन्धन सरकार असफल भएको उनको कथन छ । ‘सरकार राजस्व संकलनमा चुकेको छ । एक खर्ब ५० करोड ऋण कर्मचारी लाई तलब खुवाउन ऋण लिनु परेको छ । सुशासनमा इतिहासकै सबैभन्दा भ्रष्ट भएको छ । सुरुमा ताप्के तातेजस्तो तातिन्छ अनि गठवन्धनका नेता तानिन थालेपछि छानबिन अन्तै मोडिन्छु उनले भने ।

अनुसन्धान गर्ने प्रहरी अधिकारी हटाइनु, सुन काण्डमा माओवादीका नेता तानिन थालेपछि छानबिन हराउनु यसको उदाहरण भएको उनले बताए । ‘बाँसबारी छानबिनमा सरकार तात्तियो अब काग्रेसका सांसद समेत मुछिने भएपछि सामसुम हुन्छ, ‘ उनले भने, ‘सरकार निकम्मा र कमजोर भएको छ ।’

यो सरकार जतिदिन बस्छ मुलुक बर्बादीमा जाने उनले बताए । ‘सरकार असफल हुँदा व्यवस्था असफल भएको होइन । कांग्रेसले यो अवस्था हेरेर नबसोस् र पुनर्विचार गर्नुहोस । कांग्रेसले कित्ता स्पष्ट गर्नुपर्छ भनेर हामीले भनेका छौ’ भट्टराईलेले थपे ।

प्रतिक्रिया दिनुहोस्