Logo

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित: खड्का



काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।

बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गरेका थिए ।

बिपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उहाँले आफूहरुले पनि महत्वपूर्ण राजनीतिक निर्णय गर्दा बिपी कोइरालालाई सम्झने गरेको बताए ।

बिपी कोइरालाको सिद्धान्त अनुरुपनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनको दाबी छ । अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बिपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखेका थिए ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजल स्थिति बिपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नु साथै सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्