काठमाडौँ, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे देश टाट पल्टिनु अनिवार्य रहेको दाबी गरेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले देशको अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।
मङ्गलवार नेकपा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराएका हुन् ।
ओलीले भने, ‘पूर्णरूपमा अर्थतन्त्र ओरालो लाग्यो । देश असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब यदि डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने नेपाल असफल राष्ट्र बन्ने खतरा हुन्छ । हामीले बुझ्नु परेको छ कि देश बरबादीतिर जाँदैछ । अर्थतन्त्र सङ्कटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ ।’







