
झापा, २३ असोज । लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।
चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् ।
बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताए ।
अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू-भाग डुबानमा पर्ने जोखिम देखिएको हो । गएको मंगलवार बेलुकीदेखि परेको वर्षाले गर्दा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् ।
आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही ठाउँहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।






