Logo

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्छ तर नेपाली सन्तुष्ट छैनन्’



झापा, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरेका छन् ।

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चर्का नारा र आश्वासनले नेपाली जनमानसलाई सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका छन् ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले सन्देशमा उल्लेख गरेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

उनले सबै राष्ट्र, सबै समुदाय मिलेर रहून् कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने आफूहरुको मान्यता रहेको उल्लेख गरेका छन् । नेपालको कुटनीति कमजोर बन्दै गएको उनको आरोप छ ।

‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ ।’ उनले सन्देशमा लेखेका छन्, ‘यही भावनालाई आत्मसाथ गर्दै नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैंमा आत्महिनताको विषय बन्न गएको छ ।’

उनले मुलुकको अर्थतन्त्र खस्किँदै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको दुखेसो छ।’ उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्