Logo

वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने



काठमाडौँ, २७ पुस । सहज रुपमा बहुमत पुग्ने भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।

उनी गएको सोमबार वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस प्रदेशमा धेरैजसो दलहरुले मुख्यमन्त्री बनाउनका लागि समर्थन गरेकाले सहज रुपमा विश्वासको मत पनि प्राप्त गर्न सकिने भएपछि माघ ३ गते नै विश्वासको मत लिने तयारी गरेका छन् ।

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्