Logo

वामदेव गौतमले भने ‘प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो’



काठमाडौँ, ११ असार । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरूप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान(प्रतिनिधिसभा विघटन) नै ध्वस्त पारेको बताएका हुन् ।

अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु कुनै हिसाबमा उचित नभएको गौतमले बताए । गौतमले कम्युनिस्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए । वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मालोचना गरेको बताए । त्यो बेला अध्यक्ष दाहालको समूहमा नगई बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुनेबताए ।

‘एउटा अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद् नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने अर्को घटना, यी दुई वटै घटनामा हामी सहमत हुन सकेनौँ । मेरो विचारमा कोही पनि सहमत हुन नपर्ने हो, तर एकथरी कमरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । मलाई केपी ओलीजी र प्रचण्डजी दुवैले आफ्नो समूहमा बोलाउनु भयो । म आउँदिन भनेँ । तर एकताको पक्षमा लाग्छु भनेँ,’ उनले भने ।

गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको उनले बताए । ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि दाहालले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको उनले बताए ।

‘२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाउनुभएको थियो । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको थियो । उहाँले मेरोविरुद्ध पार्टीभित्र जेजस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुभएको थियो । साथै ममाथि लगाइएका संगीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाईं हो, मेरो त नाम मात्रै राखेको हो, तपाईंको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्