काठमाडौँ, २३ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको लागि पहल भइरहेको बताएका छन् ।
शनिबार नेकपा एसनिकट नेवासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक सक्रियताका लागि वाम शक्तिहरूलाई एक बनाउन आफूहरूले संवाद अगाडि बढाइरहेको बताए ।
‘राजनीतिक सक्रियताका लागि वाम शक्तिहरूलाई एक बनाउनुपर्छ। राजनीतिक पार्टीहरूलाई संवाद गर्नुपर्छ । कुरा मिल्नेहरूसँग मोर्चा पनि बनाउनुपर्छ। कुन पार्टीसँग हाम्रो एकता हुन सक्छ ती पार्टीहरू हामी खोजी गर्नेछौँ । निरन्तर संवाद गर्नेछौँ,’ उनले भने ।
अध्यक्ष नेपालले जनता समाजवादी पार्टीसँग एकताका लागि कार्यदल गठन भइसकेको र निरन्तर संवाद जारी रहेको बताए । उनले कार्यदलले जसपाका अध्यक्ष उपेन्द्र यादव, नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरूसँग संवाद अगाडि बढाएको बताए ।
‘विचारमा हामी कति मिल्छौँ । मार्क्सवाद, लेलिननवाद, समाजवादप्रति हामी कति प्रतिबद्ध हुन्छौँ । यी सबैमा हाम्रा धारणा र विचार कति मिल्छन्रु सबै विषयमा खाका तयार गर्नेछौँ । मजदुर किसान पार्टीसँग पनि हामी कुराकानी गर्छौं,’ अध्यक्ष नेपालले भने ।







