काठमाडौँ, ९ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र फेरि वाम एकताको प्रस्ताव गरेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पार्टीको स्थायी कमिटी बैठकमा नेता भुसालले एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम बर्चस्व पुन: स्थापनको प्रस्ताव गरेका छन् ।
उनले बैठकमा चार पेज लामो एकताको प्रस्तावसहितको फरक मत राखेका छन् । उनले त्यो प्रस्ताव पार्टी स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठकसम्म लाने तयारी गरेका हुन् ।
उनले वाम एकता नगरेकै कारणले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १५० सिट गुमाउन परेको बताए ।
उनले भनेका छन्, ‘अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन्। त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो । फेरि निर्वाचन आउँदै छ ।’
आगामी निर्वाचनमा मात्रै नभएर कम्युनिष्ट पार्टी र आन्दोलनलाई धेरै पछिसम्म असर गर्ने उनले बताएका छन् ।
‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाई भन्दा बढि हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ । कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली काङ्ग्रेसले नेकपा एमालेका विरूद्ध कम्युनिष्ट पार्टीहरूलाई नै प्रयोग गर्ने अवस्था देखिँदै छ’ उनको भनाइ छ ।







