काठमाडौँ, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम-लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।
पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।
कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देश, जनता र समाजको रुपान्तरण गर्ने सङ्कल्पसहित नवनिर्वाचित जनप्रतिनिधिलाई भूमिका निर्वाह गर्न उनले निर्देशन दिए ।







