काठमाडौँ, ५ साउन । नेपाल वायु सेवा निगमले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।
त्यसैगरी नागरिक लगानी कोषलाई पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको ४५ करोड रुपैयाँ भुक्तानी भएको छ । कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी भएकाले समयमै किस्ता तिर्न नसकिएको निमगले जनाएको छ ।
पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण किस्ता तिर्न सहज भएको निगमले जनाएको छ ।







