काठमाडौँ, २ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक रु १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले व्यापार घाटा कम गर्नका लागि विद्युत् निर्यात नै उपयुक्त माध्यम भएको बताए । मुलुकको व्यापार घाटा घटाउने उपयुक्त माध्यमका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा नेपाल राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने भएको छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले बैंक तथा वित्तीय संस्थाले विद्युत् आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कूल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरेका थिए । जवाफमा गभर्नर अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताए ।