Logo

वालकल्याण विद्यालयका विद्यार्थीको लघु शैक्षिक भ्रमण सम्पन्न



झापा, २१ मंसिर ।  अर्जुनधारा नगरपालिका–६ स्थित वालकल्याण आधारभूत विद्यालयले स्थानीय विषयअन्तर्गत समावेश गरिएको शिक्षण–सिकाइ गतिविधिको भागस्वरूप कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको लघु शैक्षिक भ्रमण सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक डम्बर यादवका अनुसार विद्यार्थीलाई स्थानीय संघ–संस्था र असल विद्यालयको संरचना एवं प्रणालीबारे प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो।

भ्रमणका क्रममा विद्यार्थीहरूले सालबारी झिल, सुखानी पार्क, नमुना सामुदायिक वन, शनिश्चरे गुम्बा, बिरिङ–नेते क्षेत्र, टान्टिङ, फुलमती नदी लगायत ठाउँहरूको अवलोकन गरेका थिए। त्यस्तै हलुवागढ सामुदायिक वन कार्यालय, कालीखोला सिमसार, हलुवागढ क्षेत्र तथा भीमले आधारभूत विद्यालयमा आयोजित परिचयात्मक कार्यक्रममार्फत स्थानीय संरचना, वातावरण संरक्षण र सामुदायिक सहभागिताबारे थप जानकारी लिएका थिए। भीमले विद्यालयबाट विद्यार्थीहरूका लागि खाजाको व्यवस्थापनसमेत गरिएको थियो।

यससँगै विद्यार्थीहरूले सुखानी खोलाको अवलोकन गर्दै ऐतिहासिक सुखानी सहादत स्थल पनि घुमेका छन्। स्थानीय तहमा भइरहेको राम्रो काम, संरचना, वन–स्रोत व्यवस्थापन तथा ऐतिहासिक सम्पदाबारे प्रत्यक्ष जानकारी पाउनु विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी भएको शिक्षक देउमाया दाहालले बताइन्।

भ्रमणमा शिक्षक भेषराज अधिकारी, सीता बस्नेत र दिपिका निरौला सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्