काठमाडौँ, २५ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन् ।
पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ-ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।
उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” यसैगरी उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनास निम्त्याएको उल्लेख गरेका छन् ।
“म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस”, उनले भने, “हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस तर हाम्रा विकासले विनासको जोखिम नल्याओस ।” जलवायू परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उनको भनाइ थियो ।
विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो ।







