Logo

विकासका लागि दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक: मुख्यमन्त्री चौधरी



नवलपरासी, २१ पुस । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका विषयमा दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको बताएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाटस्थित राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवका क्रममा आज आयोजित समापन समारोहमा उनले अबको प्रतिस्पर्धा राजनीतिमा नभई विकासमा हुनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले अब सातवटै प्रदेशका मुख्यमन्त्रीबीच कसले बढी विकास गर्छ र को पहिला जनताको आँगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै महिनाको रु ३० देखि ४० हजार कमाउने कसरी बनाउन सकिन्छ? भन्ने चिन्तनका साथ दुई लाख जनशक्तिलाई रोजगारी दिने योजनाअनुरुप काम अघि बढेको चौधरीको भनाइ थियो ।

“प्राविधिक शिक्षालाई जोड दिनुस्, योजना ल्याउनुस् । प्रदेश सरकारले गर्ने सहयोगका लागि म तयारी छु”, मुख्यमन्त्री चौधरीले भने, “तल्लो तहमा विकास नभई मुलुक विकास सम्भव नहुने भएकाले ग्रामीण क्षेत्रको विकास पहिलो प्राथमिकतामा हुनुपर्छ ।” संविधानलाई पूर्ण कार्यान्वयन गरी आवश्यक नीति-निर्माणमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताए । उनले सीपमूलक व्यवहारिक शिक्षा पद्धति अँगाल्नुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षामार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश सरकार अघि बढिरहेको दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्